
नेपाल सरकारका गृहमन्त्री खगराज अधिकारीले कठिन परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्वोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि निर्देशन दिएका हुन् ।
गृहमन्त्री अधिकारीले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्बाह गरेको भूमिकाको प्रशंसा गरे ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खगराज अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ बिभाग र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।
निरीक्षणपश्चात गृहमन्त्री अधिकारीले भर्चुअलमार्फत सातै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा ब्यवस्था चुस्त पार्न निर्देशन दिएका थिए । प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गराए ।
सीमित साधन स्रोतका बावजुद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै उनले आबश्यक ब्यवस्थापनमा गृह मन्त्रालयले सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताउनु भएको हो । उनले आगामी दिनमा नेपाल प्रहरी थप ब्यावसायिक र ऊर्जावान् हुने बिश्वास दिलाए ।
प्रहरी महानिरीक्षक थापाले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको सन्दर्भ जोड्दै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको बताए।
नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोवल विषयमा शोध र प्राप्त सुझाबक कार्यान्वयन, प्रहरी कर्मचारीको आचारसंहिताको कार्यान्वयनलगायतका विषयले सङ्गठनको पद्धतिजन्य बिकास र सूत्रबद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उनले जानकारी गराए ।
उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रबिधिको प्रयोगलाई प्राथमिकता पूर्वक अबलम्बन गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षालगायतका विषयमा जानकारी गराएका छन् ।