मन्त्री बन्नेहरुलाई उपेन्द्र यादवले सोध्यो स्पष्टीकरण, महन्थ ठाकुरले गरे केन्द्रीय समिति विस्तार

0 Shares
तत्तकालिन राजपा र सपा मिलेर बनेको जनता समाजबादी पार्टी (जसपा) मा दुई अध्यक्ष बीचको अन्तरसंघर्ष अझैपनि जारी रहेको छ ।

एकले अर्कोलाई गरेको कारबाही प्रक्रियामा निर्वाचन आयोगले रोक लगाएपनि अब भने जसपाबाट संघीय सरकारमा सहभागी मन्त्रीहरूलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन्।

पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका हुन्। जसपा केन्द्रीय कार्यालय प्रमुखले सात दिनको म्याद दिँदै सरकारमा सहभागी मन्त्रीहरूसँग स्पष्टीकरण सोधिएको थियो ।

ठाकुरले गरे कार्यकारिणी समिति विस्तार

यसैबीच जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति विस्तार गरेका छन्। कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले बहुमत ‍पुर्याउन समिति विस्तार गरेका छन् ।

आइतवर बबरमहल स्थित पार्टी कार्यालयमा बसेको महन्थ ठाकुर पक्षको शीर्ष नेताहरूको बैठकले कार्यकारिणी समिति बिस्तार गरेको जसपा एक नेताले जनाएको हो ।

अध्यक्ष ठाकुरले सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर कार्यसमिति विस्तार गरेको बताइएको छ।

जसपा विधानअनुसार कार्यकारिणी समिति ५३ सदस्यीय रहने जनाइएको छ। वर्तमान ५१ सदस्यीय कार्यसमितिमा २६ जना पूर्वराजपा र २५ जना पूर्वसमाजवादी पार्टीका सदस्यहरू छन्।

दुईजना मनोनित गर्न बाँकी थियो भने पूर्वराजपातर्फका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले जेलमा छन्। वर्तमान ५१ सदस्यीय कार्यसमितिमा अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३१ र ठाकुरमा पक्षमा २० कार्यकारिणी सदस्य रहेका छन्।

अध्यक्ष ठाकुरले १६ जना थप गरी ६७ सदस्यीय कार्यसमिति बनाएको जसपा स्रोतले जनाएको छ। थप गरिएको कार्यसमिति सदस्यहरूको सूची निर्वाचन आयोगमा पठाउने तयारी ठाकुर पक्षले गरेको छ।

यसअघि पनि सोधिएको थियो स्पष्टीकरण

यसअघि पनि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोधेका थिए।

स्पष्टीकरणको जवाफ नदिँदा यादवले उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई गराएका थिए।

निर्वाचन आयोगले  दिएको छैन मान्यता

उता ठाकुरले पनि यादवलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गरेका थिए। यद्यपि, निर्वाचन आयोगले दुबै पक्षले गरेको कारबाहीको निर्णयलाई मान्यता दिएको छैन।

केपी शर्मा ओली सरकारमा ९ मन्त्री र २ राज्यमन्त्री सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाका ९ मन्त्री र २ राज्यमन्त्री सहभागी छन्। सरकारमा जसपाको नेतृत्व गरिरहेका बरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान एवं सहरी विकासमन्त्री हुन्।

यसैगरी शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिंचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, बिमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकबाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।

जसपा नेता चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका हुन् ।

सम्बन्धित समाचार

सबै