
बिश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था अनुसार पोखरेलले बुधवार नै प्रदेशसभा सचिवालयमा गराइसकेको गण्डकी सरकारका प्रबक्ता कुमार खड्काले जानकारी दिए।
संबिधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा बिश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै बिश्वासको मत लिन लागेका हुन्।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।
उनले बिश्वासको मत पाउन नसके संबैधानिक व्यवस्था अनुसार प्रदेशसभा भङ्ग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ। गण्डकी प्रदेशसभामा हाल ५९ सांसद हुन् ।