
नेपाली कांग्रेसका सभापति शेरहादुर देउबाल १४ औँ महाधिवेशनमा आफू फेरि सभापतिका लागि लड्ने सङ्केत दिएका हुन् ।
शनिवार विहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै देउबाले आफू सभापतिमा दोहोरिने बताएका छन् ।
देउबाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सवैभन्दा बढी पाए पनि सिट कम जित्यौँ, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठुलो बनाउँछु र सरकारको नेतृत्व गरेर काँग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’
देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।
छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी भएका थिए ।