
सुदूरपश्चिम प्रदेश स्थित डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ ।
शनिबार परशुराम नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक बनमा मृत फेला परेकी २६ वर्षीया धामीको हत्या घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै प्रहरी टोली परिचालन गरिएको हो ।
घटनाको अनुसन्धानका लागि सङ्घीय इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा एउटा टोली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआईटी०का नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुवै टोली आइतबार बिहान घटनास्थल प्रस्थान गरेका छन् ।
असार २ गते परशुराम–८ को जमरानी स्वास्थ्य केन्द्रबाट कोभिड १९ का बाँकी रहेका स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पुर्याउन जाने क्रममा वेपत्ता भएकी धामीको शनिबार सामुदायिक बनमा शव फेला परेको थियो । शव पोष्टपार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको हो ।
शबको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीको भनाइ थियो ।