नेपाल सरकारले आवश्यक हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन गठन गरेको हो ।
बुधबार नेपाल सरकारका मुख्यसचिव शंकर दाश बैरागीले सूचना प्रबिधिको प्रयोग र सुरक्षालाई समेत मध्यनजर गरेर यसमा प्रयोग हुने हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड र तरिकाका सम्बन्धमा सञ्चार तथा सूचना तथा प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र राष्ट्रिय योजना आयोग समेत सम्मिलित कार्यदल बनाएका छन् ।
मुख्यसचिव बैरागीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको भर्चुअल सचिव वैठकमा मुख्यसचिव बैरागीले २ हप्ताभित्र प्रतिबेदन तयार गर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रबक्ता किरण राज शर्माले जानकारी दिए ।
डिजिटल नेपाल फ्रेम वर्क, साइबर सेक्युरिटी र बेरुजु फर्छ्यौटमा केन्द्रित सो बैठकमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको तर्फबाट डिजिटल नेपाल फ्रेमवर्कका क्षेत्रहरू, पहलहरू, हालसम्मको प्रगति, चुनौतीहरू र सूचना प्रविधि सम्बन्धी अन्य परियोजनाहरूको बिषयसमेटेको कार्यपत्र प्रस्तुत गरिएको थियो भने राष्ट्रिय अनुसन्धान बिभागले साइवर सुरक्षा चुनौतीको अन्तर्राष्ट्रिय प्रवृत्ति, नेपालको सरकारी डिजिटल सूचना प्रणालीमा साइबर सुरक्षाको अवस्था, सम्भावित साइबर चुनौती र साइबर हमलाको जोखिम न्यूनीकरणका लागि सरकारी कार्यालयमा तत्काल चाल्नुपर्ने कदमहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेको थियो ।
सो क्रममा बिभागले सरकारी कार्यालयमा पेनड्राईभ प्रयोग गर्न रोक लगाउने विषय उठाएको थियो । कार्यालयमा कर्मचारीलाई पेन ड्राइभ प्रयोग गर्न रोक्नुपर्ने विभागको भनाई सुन्दा जति सजिलो लाग्छ, कार्यान्वयनमा ल्याउन भने त्यति सम्भव देखिँदैन । किनकि सरकारी सर्भर नै आफैले राख्न नसकिरहेका बेला झिनो मसिनो कुरामा जानु सस्तो लोकप्रियताबाहेक केही हुन सक्दैन सहभागी एक सचिवले भने, पहिला त आफ्नै सर्भर र अहिलेको नेटवर्क सुरक्षित बनाउन सक्नुपर्यो । त्यसपछि कानुन बनाएर त्यसलाई कार्यान्वयनमा जाँदा मात्रै त्यो सम्भब हुन्छ ।
बैठकमा मुख्य सचिब बैरागीले बेरुजु फर्छ्यौट, बजेट कार्यान्वयनको बिवरण, आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रमको कार्य योजना प्रस्तुति र कार्यसम्पादन सम्झौतासमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उच्च प्राथमिकतामा रहेकोले यसका लागि आबश्यक तयारी गर्न सबै सचिवहरूलाई निर्देशन दिएका हुन् ।
यस क्रममा बैरागीले कोभिड-१९ को नियन्त्रण, उपचार र नियन्त्रणमा सरकारका कामकारबाही एवम् प्रगतिको बिवरण दैनिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस बिज्ञप्ति मार्फत प्रकाशन गर्ने गरिएको तथ्य स्मरण गराउँदै यसबाट प्रेस जगत मार्फत आम जनतामा सरकारका कामकारबाहीको विषयमा सुसूचित हुने हुँदा सबै सरोकारवाला मन्त्रालयहरूलाई यस सम्बन्धी प्रगति बिवरण दैनिकरुपमा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएका हुन् ।