राजधानी- सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार(आज)देखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।
तथापि,बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ ।
बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ । प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहदैँन । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीसँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।
सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ । राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो ।
एउटा अधिवेशनको समाप्ति र अर्का अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो । राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल छन्। हाल राष्ट्रियसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बारा सिफारिस भई राष्ट्रपतिबाट मनोनीत भएका छन्।