नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ ।
एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।
कार्यदलमा संस्थापन पक्ष र माधव नेपाल–झलनाथ खनालको असन्तुष्ट पक्षका पाँच–पाँच जना सदस्य रहेका छन् ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल ब्युताउन सहमत भएपछि हिजो पनि नेताहरुबिच छलफल भएको थियो ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् ।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।
प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएलगत्तै एमाले कार्यदलले सहमतिको प्रयास तिव्र पारेको हो । सर्वोच्चको फैसला आउनु अघि नै पार्टी विवाद मिलाउन ओली पक्ष निकै लचक देखिएको छ ।