
आज पुनर्स्थापित संसद् आठौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।
आइतवारको पहिलो वैठकको कार्यसूची भने विहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने छ । चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरवहादुर देउवाले बिश्वासको मत लिने छ ।
आज वोलाइएको प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्री देउवाले बिश्वासको मत लिने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो ।
आजको बैठकमा एमाले सरकारले ल्याएका बिभिन्न विधेयकहरू प्रक्रियामा लगिने र बजेट सम्बन्धी अध्यादेश पनि पेस गर्ने सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेस गर्ने छन् । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो ।
दोस्रो पटक बिघटित प्रतिनिधि सभालाई सर्बोच्च आदेशबाट पुनर्स्थापित गर्दै तत्कालीन प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएपछि कांग्रेस सत्तापक्षमा रहेको छ भने नेकपा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा देखिने छ । आजको प्रतिनिधिसभा बैठक सबैको चासोको विषय पनि बनेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्बोच्च अदालतको संबैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।