जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु भएको छ ।सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको बताए । रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको यादव पक्षले जानकारी दिएको छ ।
केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।
विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए ।
जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।
त्यसविरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।