आज सोमबार नेपाल कम्यूनिष्ट पार्टी एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दैछ ।
ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
दशौं महाधिवेशन गर्न आवश्यक तयारीका लागि भन्दै एमालेले बैठक बोलाएको हो । एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भिन्नाभिन्नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गर्दै आएका छन् ।
दुबै तर्फका नेताहरूले आन्तरिक एकताको पहल भइरहेको बताए पनि ठोस सहमति हुन सकेको छैन । यसअघि कार्यदल बीच भएको १० बुँदे सहमतिलाई नेता नेपालले स्वीकार गरेका छैनन् ।
पछिल्लो सयम नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने र अध्यक्ष केपी ओलीकै जति अधिकार आफुलाई पनि चाहिने शर्त राखेका छन् । तर अध्यक्ष ओली भने नेपालको यो शर्त मान्न तयार छैनन् ।