नेकपा माओबादी केन्द्रले रिक्त रहेका पदाधिकारी र इन्चार्जहरु तोकेको हो ।
आइतवार बसेको माओबदी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिएको छ ।
त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेबारी पनि तोकेको प्रबक्ता श्रेष्ठले बताए ।
केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेबारी र निर्देशनअनुसार बिभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको उनले बताए ।
केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेबारी पनि दिएको श्रेष्ठले बताए ।
जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।
प्रबक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए ।
बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनले बताए । प्रबक्ता नारायणकाजी श्रेष्ठले सरकार विस्तारमा केही ढिलाइ भए पनि अब छिट्टै पूर्णता हुने दावी गरे ।