पूर्व प्रधानमन्त्री ओली र एमसिसी उपाध्यक्ष फातिमासहितको टोलीबीच भेटवार्ता

0 Shares

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलबीचको आज भेटवार्ता भएको छ ।

भेटवार्ता ओली निवास बालकोटमा करिब एक घण्टा भएको थियो ।

आफूलाई भेट्न निवासमै आइपुगेकी उपाध्यक्ष फातिमालाई एमाले अध्यक्ष ओलीले एमसिसीबारे तत्काल पार्टीले धारणा नबनाउने बताएको उनीनिकट स्रोतले जनाएको छ ।

‘कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपालगायत सत्तारुढ दलहरुले एमसिसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले यसबारे पोजिसन क्लियर गर्ने अध्यक्ष ओलीले उपाध्यक्ष फातिमासहितको टोलीलाई बताउनुभयो’, भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।

उनका अनुसार आफू प्रतिपक्षमा रहेकाले एमसिसीबारे पहिले सत्ता पक्षले स्पष्ट धारणा बनाउनुपर्ने भेटवार्तामा ओलीले बताएका छन् ।

आफू प्रधानमन्त्री भएकाबेला माओवादी केन्द्रबाट सभामुख बनेका सभामुख अग्निप्रसाद सापकोटासहितका केही व्यक्तिले एमसिसीलाई अघि बढ्न नदिएको ओलीले स्पष्ट पारेको भट्टराईदे बताए ।

भेटवार्तामामा उपाध्यक्षले फातिमाले भने एमसिसी संसद्बाट अनुमोदनको प्रक्रिया बढाउन ओलीलाई आग्रह गरेकी थिइन् ।

त्यसका लागि एमालले सघाउनुपर्ने उनको भनाइ थियो ।

भेटवार्ताका छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी थिए ।

फातिमासहितको एमसिसीको टोलीले नेपाल आएपछि सबैभन्दा पहिले एमाले अध्यक्ष ओलीलाई भेटेको हो ।

एमसिसीकी उपाध्यक्ष फातिमासहितको टोली आज बिहान नेपाल आइपुगेको हो ।

उपाध्यक्ष फातिमा, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली आज बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सम्बन्धित समाचार

सबै