
प्रदेश नं २ स्थित रौतहटमा धामी झाँक्रीको काम गर्दै आएका रोहिणीप्रसाद घोरासैनी हत्याको आरोपमा ३ जना पक्राउ परेकाे छ ।
रौतहटमा धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अबस्थामा फेला परेको थियो ।
प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको हो।
प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको बयानका आधारमा अरु २ जना पक्राउ परेका छन् । रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरे अनुसार पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएका छन् ।
बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाई रहेको छ । बोलखेले घोरासैनीको हत्याका लागि तीन लाख रुपैयाँ दिएको पनि अभियुक्तहरुले बयानका क्रममा बताएको प्रहरी प्रमुख बिनोद घिमिरेले बताए ।
पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको हो । सहदेव भन्ने डोलप्रसाद बोलखे फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।