
काठमाडौंः सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएको छ । सर्वोच्च अदालत तिहारअघि बुधबारसम्म मात्र खुल्ने भएकोले जबरा कात्तिक २२ सम्म ढुक्कले पदमा रहन पाउने भएका हुन् ।
न्यायाधीशहरूको तर्फबाट बनेको वार्ता समितिसँग जबराले केही दिन न्यायीक सुधारका लागि समय मागे पनि न्यायाधीशहरूले बहिर्गमन मितिको सुनिश्चितता भने खोजेका छन् । तर जबराले आफू इजलासमा नबस्ने र बन्दीबाहेकका मुद्दामा पेसी नतोक्ने जनाएका छन् ।
यसका अतिरिक्त उनले संवैधानिक बहिर्गमनको कुरा राखेर आफ्नो विवादलाई संसद् छिराउन खोजेको न्यायाधीशको आशंका छ । यो आशंकामा वार्ता समितिले आज र भोलि जबरासँग कुराकानी गर्नेछ । यसबीचमा आजका लागि बन्दीका मुद्दामात्र पेसी चढेका छन् भने तिहारअघिको बाँकी एकदिन (बुधवार) पनि बन्दीका मुद्दामात्र पेसीमा राख्ने उनको प्रतिबद्धता छ ।
तिहार बिदालगत्तै असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध नयाँ ढंगको आन्दोलनमा उत्रने जनाएको छ । तर यसको मोडालिटीमा भने न्यायाधीशबीच छलफल सकिएको छैन ।
न्यायाधीशहरूको आन्दोलनसँगै नेपाल बारले पनि तिहारअघिसम्मका लागि अदालतमा कालोपट्टीसहित प्रदर्शन गर्ने, जबराको इजलास बहिष्कार गर्नेलगायतका कार्यक्रम गरिरहेको छ । बारले तिहारपछि आफूहरू जबराविरुद्ध निर्णायक आन्दोलनमा जाने घोषणा गरिसकेको छ ।