लक्ष्य भन्दा बढी राजस्व सङ्कलन

0 Shares

काठमाडौँः आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व सङ्कलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए ।

‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’, नेपालले भने, ‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ ।

कार्यालयले गत असोज महिनामा मात्रै एक करोड ७० लाख आयकर सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर उक्त महिनामा तीन करोड ६८ लाख आयकर सङ्कलन भएको नेपालले जानकारी दिए। असोज महिनासम्म रु ५ करोड ८३ लाख आयकर सङ्कलन गर्ने लक्ष्यमा १ सय ९९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर सङ्कलन गर्न सफल भएको हो ।

बागलुङमा भने चालू वर्ष शिक्षा स्वास्थ्य कर सङ्कलन भएको छैन । सबैमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर सङ्कलन गर्ने लक्ष्यमा कार्यालयले १ सय ३३ प्रतिशत प्रगती गरेर २५ करोड ७१ लख ६५ हजार कर सङ्कलन गर्न सफल भएको हो ।

पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि मात्रै बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि सुरु भएको छ । अहिले बागलुङ कार्यालयमार्फत १७ हजार बढीले कर तिर्ने गरेका छन् । केही समयअघि कार्यालयले पर्वतमा पनि करदाता सेवा कार्यालय स्थापना गरेको छ ।

उक्त कार्यालयमार्फत पर्वतका कारदाताले कर तिर्ने गरेका छन् । पछिल्लो समय कार्यालयबाट प्यान नम्बर लिने र रोजगार भएका र मजदूरी गर्नेले समेत आफ्नो कमाइको १ प्रतिशत कर तिर्न थालिसकेका छन् । नेपाल सरकारले ल्याएको प्यान नम्बरबाट राज्यलाई योगदान गर्ने नीतिले देशकै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आएको अधिकारीको भनाइ छ । रासस

सम्बन्धित समाचार

सबै