काठमाडौँः नेपाल विद्युत प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ । प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको हो ।
हिजो (मंगलबार) प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताऐ । लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने उनले बताए । उनले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाट माथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जिकिर गरे ।
उनले अहिले मिटरको सामान, ट्रान्फरमर, तार लगाएतका बस्तुको अभाव भएका कारण थप विद्युतिकरणका साथै मागेकै समयमा मिटर उपलव्ध गराउन नसकिएको पनि उल्लेद गरे । त्यस्तै उनले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिए । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगाएतका आयोजना बढाउने क्रममा रहेको बताए ।
उनले हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रीत रहेको बताए ।