
काठमाडौंः चीनले नेपाललाई अनुदान स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।
चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने समेत जानकारी गराइन्।