
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन आह्वान गरेकी छन्। शुक्रबार नेपाल संवत् ११४२ को शुभकामना दिँदै उनले नेपाल संवत्ले आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।
भण्डारीले राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚उन्नति र प्रगतिका लागि क्रियाशील रहनप्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। ‘लिच्छवी राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ। शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।’
सन्देशमा भनिएको छ, ‘नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो। यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ। यस दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा मनाउने गरिन्छ।’ आजबाट नेपाल संवत् ११४२ प्रारम्भ भएको छ।