औपचारिक जनगणना शीतल निवासबाट सुरु

0 Shares

काठमाडौँः देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । आज (बिहीबार) शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् ।

देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका तथ्याङ्क बिभागले जनाएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको बिभागका निर्देशक केशव कुमार गौतमले जानकारी दिए ।

देशभरमा ८७ वटा जिल्ला स्तरका जनगणना कार्यालय स्थापना गरेको उनले बताए । गौतमले तथ्याङ्को गुणस्तर कायम हुने गरि जनगणना हुने उल्लेख गर्नुभयो । उहाले तथ्याङ्क संकलन गर्न आउनेलाई सहि तथ्याङ्क दिएर सहयोग गर्न आग्रह पनि गरे ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । उनले जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

सबै