काठमाडौँः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिने भएको छ । आज साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिनेछन् ।
हिजो (मंगलबार) विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भन्दै एमालेका सांसदले बैठक रोकेका थिए ।
मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।
९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, नेकपा एकीकृत समाजवादीका १०, माओवादी केन्द्रका १५,जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।