काठमाडौँः नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाण्डौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिएका छन् ।
महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निर्वाचित हुने भएका छन् । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ ।
परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तेस्रो राष्ट्रिय महाधिवेशन को तयारी पुरा भएको जानकारी दिए । ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको आरोप लगाए ।
ढकालले हिमाल, पहाड, तराई, धनी र गरिब सबैको प्रतिनिधित्व हुनेगरी सबैलाई समेट्न आफ्नो दलले खोजेको पनि दावी गरे । आफ्नो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि उनले बताए ।