काठमाडौँः सरकारले बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्न सुरु गरेको छ । बुधवार राहदानी विभाग त्रिपुरेश्वरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ–पासपोर्ट हस्तान्तरण गर्नुभएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी इपासपोर्ट जारी गरेको हो ।
इ–पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेबाट पूर्णरुपमा वितरण थालिने राहदानी विभागले जनाएको छ । कार्यक्रममा मन्त्री खड्काले इ–पासपोर्ट सवै जिल्ला र विभिन्न नियोगहरुबाट बितरण हुने बताए । राहदानी लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता अब हट्ने भन्दै उनले अव सबै काम अनलाईन प्रणालीबाट हुने उल्लेख गरे । मन्त्री खड्काले देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपाली राहदानीको सम्मान थपिने जिकिर गरे ।
त्यस्तै शताव्दी पुरुष जोशीले पासपोर्ट नागरिकको पहिचान भएको भन्दै नयाँ प्रबिधिले समस्या झेल्नुनपर्ने विश्वास व्यक्त गरे ।
नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।