
काठमाडौँः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज (सोमबार)बाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन सुरु भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा सोमबारबाट क्षेत्रीय अधिवेशन सुरु भएको हो ।
यस अधिवेशनबाट क्षेत्रीय नेतृत्व चयन हुने छ भने केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन् । एक प्रतिनिधि सभा क्षेत्र बराबर २६ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् । यसरी आउने महाधिवेशन प्रतिनिधिहरुबीच नै केन्द्रीय नेतृत्वका लागि प्रतिष्पर्धा हुने छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशनबाट हुने प्रतिनिधि छनौटका नतिजा मंगलबारसम्म आउने कांग्रेसले जनाएको छ ।
१४ जिल्लामा भने जिल्ला अधिवेशन नै सम्पन्न भईसकेको छ भने केही जिल्लामा वडा स्तरमै विवाद रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ भने मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय गरिएको छ ।