नेपाल कम्यूनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोह अवधिभर भिड ब्यवस्थापन र सुरक्षाका लागि चितवन प्रशासन कार्यालयले नारायणगढ बजार क्षेत्रभित्र सार्वजनिक तथा निजी गाडीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ ।
महाधिवेशनको उद्घाटनको दिन मानिसहरूको भिड ब्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सञ्चालनमै रोक लगाउने निर्णय गरेको हो ।
मङ्सिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने बताइएको छ ।
यसै गरी काठमाडौं वा पोखराबाट मुग्लिङ हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने पनि बताइएको छ ।
पूर्वी नेपालतर्फ आऊ-जाऊ गर्नेहरूले आँपटारी-बाइपास रोड हुँदै यात्रा गर्न सक्ने छन् ।एमालेले महाधिबेशन उद्घाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरूको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरूले प्रमुख चुनौती मानेका छन् ।
भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरिएको छ । उद्घाटन समारोह साँझ ५ बजेसम्म चल्ने अनुमान छ ।