कमल थापाले लिङ्देनलाई भने ४ वर्ष धैर्य गर्नुहोस्

0 Shares

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई अध्यक्ष कमल थापाले ४ वर्ष धैर्य गर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले पार्टीलाई यो भन्दा कमजोर हुने ठाउँ नभएको भन्दै पार्टीलाई अलि माथि उठाएर नेतृत्व छाड्ने बताए ।

युवाहरुले नेतृत्व लिन्छौं भन्दा आफू खुशी भएको भन्दै उनले भने, ‘पार्टीको कमजोर अवस्था छ । यो भन्दा कमजोर हुने ठाउँ छैन । ४ वर्ष धैर्य गर्नुस्, अलि माथि पुगेपछि तपाईंहरुलाई जिम्मा लगाउँला ।’

थापाले पार्टीलाई आगामी निर्वाचनबाट अग्रणी शक्तिको रुपमा स्थापित गरेपछि र हिन्दु राष्ट्र तथा राजतन्त्र स्थापित गर्ने आधार स्थापना गरेपछि विश्राम लिने बताए ।

पार्टीको व्यस्तताले बद्रीकेदार, जगन्नाथपुरीलगायतका तीर्थस्थल जान नपाएको भन्दै अध्यक्ष थापाले पार्टीको जिम्मेवारी छाडेपछि तीर्थ जाने इच्छा रहेको बताए ।

नेतृत्व हस्तान्तरणको कुरा गर्नेहरुले पार्टी नेतृत्वलाई असफल भनेकामा थापाले आक्रोश पोखे । ‘नयाँ जिम्मेवाररी लिने मान्छेले, नेतृत्वलाई गाली गरेर बदनाम गरेर असफल भनेर हुँदैन । कमल थापा, पशुपति प्रकाश असफल भयो भन्ने मान्यता स्वीकार गर्न सकिँदैन’ उनले भने ।

उनले नेतृत्व बुढो भइसक्यो भन्नेसँग टुँडिखेलमा दौडिन पनि तयार रहेको बताए । ‘टुँडिखेलमा गएर दौडौ, मलाई जित्नुभयो भने म अध्यक्ष पद छोड्न तयार छु’ अध्यक्ष थापाले भने ।

थापाले नेता धवलशम्शेर राणालाई पनि सहमतिमा आउन आग्रह गरेका छन् । ‘सहमति गरौं, के आधारमा गर्नुपर्छ, छलफल गरौं’ उनले भने ।

सम्बन्धित समाचार

सबै