नयाँ अभ्याससहित आज सर्वोच्च अदालतमा पेसी तोकिँदै

0 Shares

काठमाडौँ: सर्वोच्च अदालतमा आज (बुधबार)बाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएकोमा अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो। अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।

योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन्।

कसरी तानिन्छ गोला?

कार्यविधिअनुसार इजलास र मुद्दाका लागि छुट्टाछुट्टै गोलाको व्यवस्था छ । ती गोलालाई अपारदर्शी थैलोमा राखिने र प्रधानन्यायाधीशपछि वरिष्ठताका आधारमा पालैपालो अन्य न्यायाधीशहरूले तान्ने छन् । न्यायाधीशले तानेको गोलाको रेकर्ड कम्प्युटर र सीसी क्यामेरामा सुरक्षित राखिनेछ । बृहत पूर्ण वा पूर्ण इजलास, एकल र संयुक्त इजलासका लागि छुट्टाछुट्टै गोला र थैली हुनेछन् ।

बृहत पूर्ण वा पूर्ण इजलासका लागि अदालतमा उपस्थित न्यायाधीशको संख्या बराबरका गोटी थैलीमा राखिनेछ । बृहत पूर्ण वा पूर्ण इजलासका लागि तोकिएका गोलामा ‘१’, ‘२’ अंक लेखिएको हुनेछ । एकल इजलासका लागि बनाइने गोलामा ‘अ’, ‘आ’ लेखिएको हुनेछ । बृहत पूर्ण र एकल इजलास गठन भइसकेपछि मात्र संयुक्त इजलासका लागि गोला तान्नुपर्नेछ । संयुक्त इजलासका लागि इजलासको संख्या अनुसारका संकेत भएका गोटी राखिनेछ ।

गोला तानेर इजलास गठन भइसकेपछि न्यायाधीशले मुद्दाका गोला तान्ने छन् । मुद्दाका लागि ‘क’, ‘ख’ अंकित गोला बनाइनेछ ।
हेर्दाहेर्दै र निर्णय सुनुवाइको मुद्दामा पनि गोला तानिनेछ ।

सम्बन्धित समाचार

सबै