अब नेपाली कांग्रेसको परिवर्तन धेरै टाढा छैन :नेता यादव

0 Shares

काठमाडौं: नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले शेरबहादुर देउवा अभिभावकीय भूमिकामा बस्ने हो भने पार्टीभित्र सहमति धेरै टाढा नरहेको बताएका छन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “देउवाले अभिभावकीय भूमिकामा बस्न चाहनुभयो भने अवसर नपाएका अनि त्याग र तपस्या गरेका नेताले जिम्मेवारी पाउने र पार्टीभित्र सहमतिको वातावरण बन्छ । विगत पाँच वर्षमा कांग्रेस नेतृत्वको कमजोरी समीक्षाको विषय हो । कांग्रेसमा परिवर्तनको धेरै आवश्यकता छ । अब धेरै टाढा छैन परिवर्तन ।”

नेता यादवले प्रदेश २ को अधिवेशन अन्योलमा परेको पनि बताए । उनले थपे, “प्रदेश २ मा क्रियाशील सदस्यतादेखि नै विवाद भएकाले वडा अधिवेशन ढिलो भयो । हिजोसम्म निर्वाचन सर्लाहीका चार, सप्तरी, रौतहट र बाराको एकएकवटा निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिको नामावली आउन सकेको छैन । नामावली आएका ठाउँलाई मात्र अघि बढाउने कि सबैलाई सँगै अघि बढाउने भन्ने अन्योल छ ।”

समयको चापका कारण प्रदेश अधिवेशन के गर्ने भन्ने छलफल भइरहेको पनि यादवले बताए । उनले थपे, “पाँच दिनपछि संघीय महाधिवेशन हुँदै छ । प्रदेश २ का आठ वटै जिल्ला सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु बसेर आज छलफल गर्दैछौं । समयमै नामावली आयो भने भोलि र पर्सिमा गर्न सकिन्छ ।”

पार्टीको भलोका लागि समग्र सहमतिको कुरा भइरहेको पनि नेता यादवले बताए । उनले भने, “प्रदेश २ मा धेरै नेता छन् । तर संगठन कमजोर छ । भोलिको पार्टीको एकल सरकार बनाउन, प्रदेश नाम र राजधानी तोक्न सर्वसहमतिमा जानुपर्ने अवस्था छ । अब हामीसँग आम सहमति र निर्वाचन दुवै बाटो खुला छ ।”

सम्बन्धित समाचार

सबै