काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा नेपाली कांग्रेसका नेता गुरु घिमिरेमाथि राजनीतिक हिंसा भएको बताएका छन्। प्रदेश १ सभापतिमा पराजित भएर काठमाडौं आएका उनले मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
देउवा पक्षीय उद्धव थापासँग मात्र २ मतले पराजित भएका उनले आफूलाई हराउन सत्ता र शक्तिको दुरुपयोग गरिएको पनि बताएका छन्।
‘मलाई हराउने नाममा सत्ता चरम दुरुपयोग गरियो। प्रधानमन्त्री शेरबहादुर देउवाले ममाथि अर्को पटक राजनीतिक हिंसा गरे’, उनले भने, ‘केपी ओलीविरुद्ध हामीले नलडेको भए यो सत्ता आउने थिएन। तर देउवाले सुरु गरेको राजनीतिक हिंसाको श्रृंखला अहिले पनि रोक्नु भएन। ‘उनले यसअघि २०७४ को निर्वाचनमा टिकट नदिएर देउवाले राजनीतिक हिंसा गरेको पनि बताए।
१६३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर, ११५ मत गन्दा चमत्कारिक रुपमा २ भोटले हारेको देखाइएको भन्दै उनले पुनः मतगणना गर्न समेत माग गरेका छन् । ‘पुन:मतगणनाको माग गरेको थिएँ। केन्द्रीय निर्वाचन समितिले आलटाल गरिरहेको छ, उनले भने, ‘प्रदेश निर्वाचन समितिले गर्छु भनेको छ। यो आलटाल पनि तानाशाहीको अर्को स्वरुप हो।’