काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् । बुधबार सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह बैठकमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बसिरहेको देउवा पक्षको बैठकमा उपसभापति विमलेन्द्र निधि भने सहभागी छैनन् । बैठकमा आफूलाई नबोलाएपछि निधिले देउवा पक्षले आफूलाई आउट गरेको बताए । उनले भने : ‘संस्थापन पक्षबाट देउवाले मेरो नाम काटिसक्नु भएको छ। म घरमै छु’
देउवा समूहमा रहेको बताउँदै आएको निधिले केही समयअघि सभापति पदमा उठ्ने बताइसकेका छन् । उनी सभापतिमा उठ्ने भएपछि आफ्नै तयारीमा छन् । सभापतिमा उठेपछि देउवाले निधिलाई बोलाउन छाडेका हुन् ।
देउवाले आज आफ्नो पक्षको पदाधिकारीको टुंगो लगाउने भएका छन् । देउवा पक्षमा पनि पदाधिकारी टुंग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा तनावमा छन् ।