समावेशी संसदीय प्रणालीनै सिध्याउने षड्यन्त्र एमालेबाट भइरहेको छ : रामचन्द्र पौडेल

0 Shares

काठमाडौं: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन्। एमालेले संसद अवरोध गरिरहेको प्रसंगमा पौडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास’को रूपमा अर्थ्याएका छन्।

‘६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दै छन्,’ पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

सरकारले पनि संसद सुचारु गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनको भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामु समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन्।

‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारु गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु।’

 

सम्बन्धित समाचार

सबै