अब देउवा जित्ने हार्ने-सबै नेता कार्यकर्ताको सभापति हुन् :रामकृष्ण यादव

0 Shares

काठमाडौं: नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले शेरबहादुर देउवा हार्ने र जित्ने सबै पक्षको नेता हुन सक्नुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “हामीले हिजो पार्टी संस्थागत रुपमा अगाडि बढ्न नसकेकाले परिवर्तनको मुद्दा उठाएका थियौं । तर परिवर्तन पक्षधर नेताहरुबीच समन्वय र सहकार्य हुन नसक्दा दुःखद परिणाम आयो । अब शेरबहादुर देउवा जित्ने र हार्ने सबै नेता कार्यकर्ताको सभापति हुनुभएको छ । अब उहाँले बहुमत र अल्पमतभन्दा पनि सबैको नेता बन्न सक्नुपर्छ । अब तेरो र मेरो भन्नु हुने छैन ।”

नेता यादवले नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनका क्रममा हिजो राति जबर्जस्ती मतदान गर्न खोज्दा सामान्य झडप भएको बताए । उनले थपे, “केन्द्रीय निर्वाचन समितिले मतपत्र छाप्न ढिलाइ गरेका कारण मतदानको प्रक्रिया सरेको सर्यै भयो । राति जबर्जस्ती मतदान गर्न खोज्दा सामान्य विवाद भएको हो । नेता वा समूहबीच झडप भएको होइन । आज शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्छौं ।”

प्रदेश २ मा सर्वसम्मत नेतृत्व छान्ने प्रयास विफल भएकाले मतदान गर्नुपरेको पनि उनले बताए । यादवले भने, “हामीले त भोलिको तीनै तहका निर्वाचन परिणाम सकारात्मक हुने गरी सर्वसम्मतिमै गरौं भनेका हौं । तर कृष्ण यादवजीको पक्षबाट त्यसमा रुचि देखिएन । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट पनि पहल हुन सकेन । हामीले यो वा त्यो व्यक्तिलाई बनाउने भनेका थिएनौं ।”

प्रदेश २ मा डा। शेखर कोइराला पक्ष र विमलेन्द्र निधि पक्षबीच सहमति भएको पनि बताए । उनले भने, “राजनीतिमा कोही लामो समय दुश्मन पनि हुँदैन, कोही सदैव मित्र पनि रहिरहन सक्दैन । हाम्रो पक्षले निधि निकट रामसरोज यादवलाई समर्थन गरेको छ । उहाँसँग विभिन्न तह र तप्कामा काम गरेको लामो अनुभव छ । कडा प्रतिस्पर्धा छ तर रामसरोजको स्थिति राम्रो छ ।”

सम्बन्धित समाचार

सबै