
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार देखी सुरु हुँदैछ। एकता महाधिवेशन लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णयअनुसार प्रदेशस्तरीय विस्तारित बैठक सुरु हुन लागेको हो।
पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको पार्टीका नेता मोहन श्रेष्ठले बताए।
राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक अन्तर्गत बिहीबार लुम्बिनी प्रदेशको बस्दै छ। दाङमा हुने बैठकमा केन्द्रीय नेता पनि सहभागी हुँदै छन्। पुस १२ गते गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ।
अन्य प्रदेशको छिट्टै मिति घोषणा गरेर पुसभित्र विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन्। दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्रीद्वय डा।धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुँदै छन्।