काठमाडौँ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।
सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ ।
माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।