काठमाडौँ: नेकपा माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।
केन्द्रीय समितिको आज बसेको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ ।
महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतनिधि १६०० को हाराहारिमा रहेका छन् ।
उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ ।