स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस १३ गतेदेखि २२ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिड-१९ विरुद्ध फाइजर खोप दिने सूचना जारी गर्यो। घोषणाअनुसार काठमाण्डू उपत्यकाका स्थानीय तहहरूलाई विद्यालयमार्फत् उक्त उमेर समूहको तथ्याङ्क सङ्कलन गर्न र खोप लगाउनका लागि केन्द्र तथा स्वास्थ्यकर्मी परिचालनलगायत तयारी गर्न निर्देशन दिइयो।
सोहीअनुरूप आफूहरूले पनि तयारी थालेको बताउँछन् गोकर्णेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय।
विद्यालयहरूबाट सङ्कलित तथ्याङ्कअनुसार उक्त नगरपालिकामा झन्डै १८,००० जना यो अभियानको लक्षित समूहका छन्।
“बाह्रदेखि १८ वर्षका किशोरकिशोरी विद्यालयमा हुन्छन् भन्ने हिसाबले शैक्षिक संस्थाहरूमार्फत् खोप लगाउनेको तथ्याङ्क सङ्कलन गर्न लगाइयो। तर सरकारले सोचेभन्दा केही फरक विवरण हामीलाई प्राप्त भयो,” उपाध्यायले बीबीसीसँग भने।
उनका अनुसार स्थानीय गुम्बामा अध्ययनरतदेखि, पुनर्स्थापना केन्द्र, तामा तथा चाँदीका भाँडाकुँडा बनाउने र गलैँचा बुन्ने पेसामा समेत उक्त उमेर समूहका किशोरकिशोरी संलग्न रहेको पाइएको हो।
विद्यार्थीका लागि प्रत्येक विद्यालयमा र पढाइबाट वञ्चित वा अन्य क्षेत्रमा संलग्न किशोरकिशोरीका लागि सातवटा सामुदायिक स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र राख्ने तयारी भयो। त्यस्तै नगरपालिकाका सरकारी साथै निजी अस्पतालहरूका स्वास्थ्यकर्मी परिचालनको तयारी भएको उपाध्यायको दाबी छ।
“भिड व्यवस्थापनका लागि जनशक्ति व्यवस्थापनदेखि विद्यालयहरूसँग समन्वयन गर्दागर्दै अचानक खोप कार्यक्रम स्थगनको खबर आयो,” उनले भने,”खोप वितरणबारे नयाँ सूचनाको पर्खाइमा छौँ।”
काठमाण्डू उपत्यकामा सर्वाधिक विद्यार्थी भएको ज्ञानोदय उच्च माध्यमिक ९सामुदायिक० विद्यालयमा २,६०० विद्यार्थी खोपको प्रतीक्षामा छन्।
उनीहरू मङ्गलवारदेखि एक साताभित्र खोप पाउनेमा ढुक्क थिए। विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार पुस १२ गते मध्यान्हसम्म पनि खोप कार्यक्रम स्थगनबारे कुनै जानकारी प्राप्त भएको थिएन।
“साँच्चै स्थगन भएको हो भने आधिकारिक जानकारी आउनुपर्ने हो, आएको छैन। हामी त अभिभावकहरूलाई सूचना पठाएर तयारी अवस्थामा बसेका छौँ,” महर्जनले भने।
किन भयो स्थगित?
फाइजर खोप अभियान स्थगनबारे जानकारी अधिकारीहरूले पुष्टि गरेका छन्। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार खोप लगाउन आवश्यक सिरिन्ज र खोपसँग मिसाइने तरल पदार्थ ‘डाइलुएन्ट’को अभाव भएकाले खोप वितरण प्रभावित भएको हो।
फाइजर खोपमा प्रति भाएल (सिसा) १.८ मिलिलिटर ०.९ प्रतिशत सोडियम क्लोराइड भएको डाइलुएन्ट प्रयोग गर्नुपर्ने उक्त खोपको निर्देशिकामा उल्लिखित छ।
डाइलुएन्टले खोपको बाक्लोपन केही घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने पनि गर्छ।
फाइजर खोप लगाउनका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज पर्याप्त नभएको मरासिनीको भनाइ छ।
”फाइजरलाई आवश्यक डाइलुएन्ट पनि नआइपुगेकाले खोप दिने कार्यक्रम केही पछाडि धकेलिएको हो,” उनले भने।
हाल सरकारसँग अन्य खोपका लागि प्रयोग हुने ०.५ एमएलको सिरिन्ज मात्र छ।
आवश्यक सामग्री आइपुग्नासाथ खोप वितरण सुरु हुने उनको कथन छ।
कहिले आउलान् सिरिन्ज र डाइलुएन्ट?
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार खोपका लागि आवश्यक छ लाख ७० हजार सिरिन्ज पुस १४ गते नेपाल भित्रिने टुङ्गो लागेको छ।
“सिरिन्ज आउने निश्चित भइसक्यो तर डाइलुएन्ट कहिले आउँछ भन्न सकिन्न। उक्त झोल पदार्थ सबै खोपका लागि आवश्यक हुँदैन। तर फाइजर खोप त्योबिना दिन मिल्दैन,” उनले भने।
फाइजर खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाल पठाइएको हो। पहिलो चरणमा खोपसँगै सिरिन्ज र डाइलुएन्ट पनि पठाइएको थियो। तर पुस ९ गते ६ लाख हजार मात्रा खोप मात्र नेपाल ल्याइयो। त्यसलाई आवश्यक पर्ने सिरिन्ज र डाइलुएन्ट नआएकै कारण अनिश्चित कालका लागि खोप अभियान प्रभावित भएको बताइयो।
निर्देशक मरासिनी भन्छन्,” डाइलुएन्ट आउन त आउँछ तर कहिले भन्ने कुरा चाहिँ विमानमा ठाउँदेखि कार्गो कम्पनीको पहलले निर्धारण गर्छ।”
के थियो निर्धारित योजना?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन प्रदेशका आठवटा जिल्लामा उक्त उमेर समूहलाई खोप वितरण गर्ने बताएको थियो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बागमती प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेलधुरा साथै कर्णाली प्रदेशको सुर्खेतका बालबालिका र किशोरकिशोरी खोपबाट लाभान्वित हुने बताइएको थियो।
“सिरिन्ज र डाइलुएन्ट आउनासाथ पूर्वनिर्धारित योजनाअनुसार तोकिएकै ठाउँका किशोरकिशोरीलाई खोप दिइन्छ,” परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले बताए।
अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिनका लागि सिफारिस गरेको छ। त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन ९एफडीए० का विज्ञहरूले पनि उक्त कदमको समर्थन गरेका छन्।
यसअघि नेपालका ५०,००० किशोरकिशोरीले फाइजर खोपको दुवै मात्रा लगाइसकेका छन्। फाइजर खोप दीर्घरोगी तथा वृद्धवृद्धालाई दिने नीति बनाइएको थियो।
लक्षित वर्गले त्यसअघि नै खोप लगाएकाले बाँकी रहेको मात्रा किशोरकिशोरीलाई उपलब्ध गराइएको हो।
मोडर्ना खोप अभियान के हुँदैछ?
सरकारले यसै महिनाको आरम्भमा देशका विभिन्न ५७ जिल्लामा बालबालिका र किशोरकिशोरीलाई कोभिड(१९ विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको थियो।
हाल केही जिल्लामा खोप वितरण सकिए पनि केही जिल्लामा जारी रहेको खोप शाखा प्रमुख दाहाल बताउँछन्।
उनका अनुसार कुल १८ लाख ५० हजार मोडर्ना खोप देशभरिका केन्द्रहरूमा पठाइएको थियो।
“लगाइसकेका केही जिल्लामा केही मात्रा खोप बाँकी रहेको सुन्नमा आएको छ। पहिलो चरणमा उक्त खोपको १७ लाख मात्रा खपत हुने अनुमान गरिएको छ,” उनले भने।
मोडर्ना खोप लगाएको ठिक एक महिनामा दोस्रो मात्रा दिइने उनले बताए। “माघ ४ गतेदेखि १३ गतेसम्ममा मोडर्नाको दोस्रो मात्रा खोप वितरण हुन्छ।”
बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने तालिका सार्वजनिक नभएको अन्य १२ जिल्लामा भने फाइजर खोप नै दिने तयारी भइरहेको दाहालको दाबी छ। बीबीसीबाट