काठमाडौँ: आइतबारदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको निष्कर्ष सुनाइँदै छ ।
राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा आज मध्यान्न १२ बजेसम्मका लागि समय थप गरिएको छ ।
अधिकांश समूहले मंगलबारनै वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले आज मध्यान्न १२ बजेभित्र छलफल सक्ने बताइएको छ ।
समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै सुझाव दिएका छन् ।
ती सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरूले आज १२ बजेपछि महाधिवेशन स्थल प्रज्ञा भवनमा निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।
छलफलको निष्कर्ष सुनाउन प्रत्येक समूहका समन्वयकर्तालाई १५ मिनेटको समय दिइने माओवादीले बताएको छ ।