प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि यी समुहको आपत्ति!

0 Shares

काठमाडौँ: नेकपा माओवादी केन्द्रको जारी ८औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष तथा सुझाव पेश गर्ने क्रम सुरु भएको छ । प्रचण्डको दस्तावेजमाथिको छलफलका लागि प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।

छलफल सकिएपछि आज ११ समूहका टोली नेताहरुले सुझावसहितको निष्कर्ष जारी बन्दसत्रमा पेश गरेका छन् । बाँकी १४ समूहको सुझाव तथा निष्कर्ष भोलि सुनाइने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आज समुह नेताहरुले सुझाव पेश गर्ने क्रममा कम्युनिष्टहरुले सत्तामा पुगेपछि जनमुखी काम गर्न नसकेको ठहर गरेका छन् । समुह १४ का समुह नेता टंक राईले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिएका छन् । त्यस्तै यो समूहले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेको छ ।

छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका छन् । एमसीसी संशोधन गरेर पारित गर्नुपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताए । उनले पार्टीको नीति नै नो एमसीसी हुनुपर्ने बताएका हुन् ।

समूहगत छलफलका क्रममा बागमती प्रदेशका सहभागीले दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको भन्दै यसबारे थप स्पष्टता माग गरिएको उपत्यका विषेश प्रदेश समितिका सचिव सुरेन्द्र बस्नेतले बताए ।

समूगत छलफलमा पार्टी एकताको विषयमा समेत प्रष्ट हुनुपर्ने भन्दै विगतको नेकपा एकताको गम्भीर समीक्षा आवश्यक रहेको गण्डकीका प्रतिनिधि त्रिभुवन पौडेलले बताए ।

अर्का टोली नेताका रुपमा सत्यनारायण भगतले राजनीतिक प्रतिवेदनमा ‘भारतीय विस्तारवाद’बारे उल्लेख गर्न माग गरेका छन् । उनले अमेरिकालाई ‘साम्राज्यवाद’ भनेझैं भारतलाई ‘विस्तारवाद’ भन्नुपर्ने बताए । सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानविन गरी अनियमित देखिएको सम्पत्ति जफत गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न माग गरिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । छलफलका क्रममा मुलुक परिवर्तनको मुख्य नेतृत्व गरेको भन्दै यसलाई संस्थागत र सुदृढ गर्ने नेतृत्वमा पनि माओवादीले नै लिने गरी अघि बढ्नुपर्छ भन्नेबारे पनि सुझाव दिइएको गण्डकी प्रदेशका प्रतिनिधि अतेन्द्र केशरी न्यौपोनले बताए।

यसैगरी छलफलका क्रममा पार्टी सुद्धिकरण, आर्थिक पारदर्शीता र सच्चा कम्युनिष्ट चरित्र देखाएर कसरी अघि बढ्ने भन्ने बिषयमा कुरा उठेको भन्दै यसबारे पनि सुझाव दिइएको विपत् व्यवस्थापन विभाग तर्फका प्रतिनिधि नारायण काफ्लेले बताए।

अब भोलि बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने बताइएको छ । समूहगत छलफलमा राम कार्कीको पूरक दस्तावेज भने समावेश भएको छैन ।

माओवादी केन्द्रको महाधिवेशनमा विधान र राजनीतिक दस्तावेजमाथिको छलफल सकिएपछि प्रतिवेदन प्रस्तुतकर्ता अध्यक्ष प्रचण्ड र नेता देव गुरुङले जवाफ दिने छन् । त्यसपछि आवश्यक परिमार्जनसहित दुवै प्रतिवेदन पारित गरिने छ ।

जारी महाधिवेशनमा त्यसपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने नेता देवेन्द्र पौडेलले बताए । माओवादीको महाधिवेशन हलबाट केन्द्रीय समिति चयन हुने छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

सबै