काठमाडौं : राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । शुक्रबार राप्रपाका अध्यक्ष लिङ्गदेन मिश्रलाई भेट गर्न उनकै निवास पुगेका हुन् । अध्यक्ष लिङ्देनसँग आफ्नो भेटवार्ता भएको बारे मिश्रले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका छन् ।
महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर गएका लिङ्देनले मिश्रसँगको भेटमा पार्टी एकताको पनि कुरा गरेको बताइएको छ । मिश्रले भने सामाजिक सञ्जालमा राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको बताएका छन् ।
उनले लेखेका छन् – ‘विहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद! आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु।’