रक्सी खान जाम् भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ? भन्दै प्रेम आलेले पोखे यस्तो आक्रोश

0 Shares

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। शुक्रवार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन्। उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे।

सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको मन्त्री आलेले सुनाए। उनले रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए। सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै उनले आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए। सीईको रेग्मीकै कारण आफ्नो बेइज्जत भएको पनि आलेको भनाइ छ।

लण्डन जाँदाको टिकटबारे पनि अनावश्यक विवाद निकालिएको पनि उनको भनाइ छ। ‘यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो। लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो। अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ। मलाई एकदमै इरिटेड भयो,’ उनले भने, ‘अब यस्तो साँढेलाई सिईओ हामीले बनायौं भने संस्था चल्छ रु सदस्यहरूले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने त्यस्तो साँढेलाई ल्याएर सीईओ बनाएपछि संस्था चल्छ ?’

त्यस्तै उनले बोर्डका उच्च अधिकारीबाटै आफूलाई प्रलोभन देखाइए पनि त्यसमा आफू नपर्ने बताए। ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ। पहिलाको मन्त्री जस्तो ठानेको होला प्रेम आलेलाई। ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ। इमान बेचेर म यो चेयरमा बस्नेवाला छैन।’

 

सम्बन्धित समाचार

सबै