सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाख नगदसहित पक्राउ

0 Shares

विराटनगर : प्रहरीले सौर्य विमानबाट विराटनगर हुँदै काठमाडौँ लगिएको स्रोत नखुलेको ५० लाख रुपैयाँ प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार विमानका विराटनगर इन्चार्ज प्रकाश पौडेल र रेखा शाक्य पोखरेललाई नियन्त्रणमा लिइएको हो ।

उनले घटनामा शंकास्पद देखिएका पौडेललाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर काठमाडौँ पठाइएको जानकारी दिए। सुरक्षा घेराभित्रबाट अवैध रकम लैजाने क्रममा इन्चार्ज पौडेल आफै सक्रिय देखिएको जिसीको भनाइ छ । धावनमार्गमा विमान उड्ने तयारी भइसकेको अवस्थामा पौडेलले कार्टुनको बक्सा पाइलटलाई बुझाएको प्रहरी उपरीक्षक जिसीले बताए।

नागरिक उडड्यन प्राधिकरणले विमान यात्रुलाई व्यक्तिगत र सामानसमेत एक्सरे मेशिन र हातले चेकजाँच गराउनुपर्नेमा इन्चार्ज पौडेल आफैले सामान धावनमार्गसम्म पुर्‍याएपछि शंका लागेर काठमाडौँमा जानकारी गराएको उनको भनाइ छ।
रोक्ने प्रयास गरिरहँदा उनले सीधै विमानका चालक सदस्यलाई कार्टुन दिएका र त्यसपछि शंका लागेर हामीले नै काठमाडौं विमानस्थल सुरक्षा निकायलाई खबर गरेको उनले बताए ।

विमानस्थलका प्रमुख उत्सव खरेलले शनिबार यात्रुको चाप नहुँदानहुँदै विमानका इन्चार्जले नै सामान पुर्‍याएपछि सुरक्षा निकायलाई शंका भएको जानकारी दिए । यात्रुले सुरक्षा निकायसामु सबै सामान देखाउनुपर्ने र प्रहरीलाई शंका लाग्दा यात्रुको पुरा शरीर खानतलासी हुनुपर्ने तर त्यो नदेखिएका कारण शंकाको घेरामा रहेको उनको भनाइ छ । प्रहरीले चेक नगरी सहजै रुपमा उनलाई बक्सासहित विमानसम्म जान दिनु र विमान कम्पनीले पनि कार्टुन सहजै रुपमा लिनु, दुवै गलत भएको उनले बताए ।

प्रहरीले विराटनगर १० का इन्चार्ज पौडेल र विमान कर्मचारी रेखा शाक्य पोखरेललाई नियन्त्रणमा लिइसकेको छ । स्रोत नखुलेको सो रकम क्यासिनोको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। पक्राउ परेका रेखाको घर विराटनगर र उनको श्रीमान् राजेश पोखरेल ट्राभल एजेन्ट हुन् । पछिल्लो समय उनी होटल तथा लज व्यवासयमा आवद्ध रहेको बताइन्छ।

सौर्यका विराटनगर इन्चार्ज पौडेल भने विदेशमा रहेका आफन्तको जोडबलमा सौर्यमा कार्यरत रहेका थिए। प्रहरीले पौडेललाई शनिबार बेलुका नै बुद्ध एयरबाट काठमाडौँ लगेको थियो।

प्रहरीले कार्टुनभित्र स्रोत नखुलेको १ हजार दरको ४ हजार ९५० थान र ५ सय दरको १ सय वटा नोट बरामद गरेको छ। बरामद रकमसहित उनिहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

सबै