एमालेद्वारा राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट

0 Shares

काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले बताए । सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो ।

एमालेले टुंगो लगाएको उम्मेदवारहरुमध्ये प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे, महिलातर्फ झापाका सुमित्रा भण्डारी र सोलुखुम्बुमा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा रहेका छन् । यस्तै प्रदेश २ मा खुलातर्फ धनुषाका असर्फि भिनवार यादव र महिलातर्फ रौतहटका विना शाहले टिकट पाएका नेकपा एमालेले जनाएको छ ।

यस्तै बागमति प्रदेशमा खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीका निरकुमारी कुँवरलाई एमालेले उम्मेदवार बनाएको छ । एमालेले गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ । सुदुरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए ।

यस्तै नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्न सानेपामा केन्द्रीय समिति बैठक भर्खरै सुरू भएको छ ।

कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट पुन र सुदूरपश्चिमबाट मिश्रलाई अघि सार्ने भएको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो ।

जसअनुसार नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट पाउने सहमति भएको थियो । त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सीट भागमा परेको छ ।

 

सम्बन्धित समाचार

सबै