काठमाडौं: नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्। उनले अब हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने पनि दाबी गरे।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ। हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं। हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौं।’
काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे। देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाई थियो। उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको बताए।
उनले भने,‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय कमिटीको बैठक राख्नुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो। कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धा भएको छ। वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिष्पर्धा भएको छ। एशियाली मुलुककोलागि मात्रै होईन, संसारकै लोकताीन्त्रक देशलाई चूनौति भएको छ। तपाईँले एमालेकै महाधिवेशन हेर्नुभयो। खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो। अन्य पार्टीको पनि हेर्नुभयो। तर, नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिष्पर्धा भयो।’
उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे। उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको बताए।
उनले भने,‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रीय समितिमा मनोनित गर्नुभयो। कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो। अहिलेसम्म १३ जनाको मनोनित भएको छ। यो मनोनति कुनै गुटको होइन। वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन्, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो। शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो। बरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पाटीलाई योगदान गरेको नेता हुनुपर्छ। अहिले सबै कार्यकर्र्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ। अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो।’
उनले सभापति देउवाले गुटगत आधार नदेखाएको स्पष्ट पारे। उनले भने,‘अहिले आँत्तिईहाल्नुपर्ने अवस्था छैन। उहाँले अझै सबैलाई समेट्नुहुन्छ। राष्ट्रियसभाको उम्मेद्धवार दिँदा पनि सबैको साझा सभापतिको भूमिका देखाउनुभयो। शेखर कोइरालाले बोलाएको बैठकको आवश्यकता थिएन। हुन त उहाँले भागबण्डाको राजनीति गर्दिन भन्नुभयो। अहिले आफ्नो एजेण्डाबाट आँफै पछि पर्नुभयो।’