
काठमाडौं: प्रेस सेन्टरसम्बद्ध सदस्यहरूले मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि नबनाएको भन्दै नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन् । शुक्रबार कपिलबस्तुको तिलौराकोटमा बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टरसम्बद्ध केही सदस्यहरू बाहिरिएका हुन् ।
मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छोडेर बाहिरिएका हुन् ।
महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टरनिकट सदस्यहरू बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरूप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए । बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टरनिकट सदस्यहरू बोलेर बाहिरिएका थिए ।
महासचिवले बहिस्कारका नाममा बैठक पूर्व नै सेन्टरनिकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरूमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ ।
असन्तुष्टिका कुराहरू बैठकमै राख्नुको साटो बैठक सुरु नहुँदै बाहिर निस्किनु अमर्यादित काम भएको लेखा समिति सदस्य मुकुन्द भण्डारीले बैठकमै बताएका थिए । यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक विधानसम्मत चल्नुपर्ने बताएका थिए । बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।