नेपाल वायु सेवा निगमको नेपालगंजमा रहेको क्षेत्रीय कार्यालयमा हुम्लाका यात्रुहरूले ताला लगाएका छन् ।
मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि यात्रु उडान भर्ने भनेर यात्रुलाई विमानस्थलको हलमा राखे पनि अन्तमा फिर्ता पठाएपछि आक्रोशित यात्रुहरूले नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।
‘नेपाल एयरलाइन्सले ‘हद’ गरेपछि नेपालगंजका प्रमुख किरणमान श्रेष्ठको कार्यकक्षमा ताला लगाउन बाध्य भएका हौँ’ हुम्लाका एक यात्रु गोर्खबहादुर शाहीले भने ।
बिहान १५ जना यात्रुहरूको बोडिङ पास दिएर सिमकोट उडान भर्ने तयारी गरे पनि पछि सो जहाजले तीन जना मात्रै यात्रु बोकेर मुगुको ताल्चाका लागि उडान भरेको थियो ।
त्यसपछि रुकुम हुँदै जहाज काठमाडौं फिर्ता हुँदा यात्रुहरु आक्रोशित भएका हुन् । नेपाल एयरलाइन्सले मनोमानी उडान भर्ने र यात्रुलाई दुःख दिन थालेको भन्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाउनु परेको शाहीले बताए ।