संघीय परिषद् अध्यक्ष भट्टराईले नयाँ सरकार गठनका लागि चार प्रस्ताव राखेका छन् ।
बुधवार ट्विटरमार्फत डा. भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।
उनले देशको सङ्कट हल गर्न सुझाव दिँदै सबै दलहरूलाई राष्ट्रिय सरकार गठनमा लाग्न भनेका छन् । उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार यस्तो सरकार बन्नुपर्ने धारणा राखेका छन् । उक्त उपधारामा दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान रहेको छ ।
उनले दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरु रहेको निर्देशक समिति बनाएर जान सकिने बताएका छन् ।उनको प्रस्तावमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधन लगायत मुद्दासमेत प्राथमिकता राखिएको छ । प्रस्तावमा एक वर्षभित्र चुनाव गर्नुपर्ने कुरालाई पनि समेटेका छन् ।