
काठमाडौँ । पाँच दलिय सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अपराह्न ४ बजे बस्नेछ। बैठकमा आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ। बिहीबारै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।
हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार साँझ भेटवार्ता भएको छ। उनीहरूबीच संघीय, प्रदेश र स्थानीय तह निर्वाचनबारे छलफल भएको हो।
अब यस विषयमा आज राजनीतिक समन्वय समितिको बैठक राखेर थप छलफल र निर्णय गर्ने तयारी गठबन्धनका शीर्ष नेताहरूले गरेका हुन्।
यसअघि गत मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन ६ महिना सारेर आगामी वैशाख–जेठमा प्रतिनिधि सभा र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
उनको यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि साथ दिएका छन्। तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्।
उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ। file photo