काठमाडौं : जनता समाजवादी पार्टी भित्र नेतृत्वलाई लिएर फेरि किचलो शुरु भएको छ । महन्थ ठाकुर विभाजित भएर गएको जसपा पुनः ६ महिना नपुग्दै किचलोमा पुगेको हो । पार्टी भित्र चरम असन्तुष्टि पैदा भएको छ । यसको कारण अरु नभएर पार्टी नेतृत्व अर्थात उपेन्द्र यादव रहेको नेताहरुको भनाई छ ।
नेता यादवले पार्टीलाई जातिय घेरामा मात्रै राखेको र पार्टी भित्र छलफल नगरि एकलौटी रुपमा निर्णयहरु गरेको भन्दै किचलो शुरु भएको हो । महन्थ ठाकुर विभाजन भएर गएपछि अध्यक्ष पद खाली छ । खाली रहेको अध्यक्ष पदमा यादवभन्दा वरियतामा रहने गरि बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै २६ जना केन्द्रीय सदस्यमा २० जनाले आवाज उठाएपछि यादव अल्पमतमा परेका छन् ।
पार्टीको आन्तरिक किचलो विभाजनसम्मै पुग्न सक्ने केन्द्रीय सदस्य नवराज सुवेदीले बताए । बैशाखमा स्थानीय तहको निर्वाचन भए त्यस लगतै पार्टीको समस्या समाधान गर्ने मनशायमा जसपा थियो । तर बैशाखमै स्थानीय निर्वाचन नहुने भएपछि पार्टीको समस्यालाई समाधान गर्न हामीले नेतृत्वलाई भनिरहेका छौं ।
२० जना केन्द्रीय कार्यालय सदस्यहरुको सामूहीक आवाज भनेको वरियता अध्यक्षमा बाुबराम भट्टराईलाई अध्यक्ष बनाउनु पर्ने रहेको छ । तर यादवले भने महन्थ ठाकुरले पार्टी छोडेर गएपछि दुई अध्यक्षको च्याप्टर नै क्लोज भएको बताउँदै आएका छन् ।
पार्टीमा तत्कालिन नयाँ शक्ति नेपालका सबै र अशोक राई नेतृत्वको तत्कालिन संघिय समाजवादीका सबै नेता भट्टराईकै पक्षमा छन् । यस्तै यादव समूहकै ईस्तियाक राईलगायतका नेता समेत बाबुराम भट्टराईकै पक्षमा उभिएपछि यादव दुई तिहाईले अल्पमतमा परेका छन् ।
यादवको पक्षमा भने सरकारमा सहभागी भएका दुई मन्त्री र एक नेता मात्रै रहेको बताइएको छ । मौन अवस्थामा रहेको अशोक राईले पनि अन्तिम समयमा भट्टराईलाई नै समर्थन गर्ने बताइएको छ ।