काठमाडौं। देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको चाप धेरै बढेको छैन। तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ।
काठमाडौंका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न थालेका छन्। संक्रमण दर अझै बढ्ने हो भने सेवा बन्द गर्नुपर्ने अवस्था आउने चिकित्सकहरु बताउँछन्।
विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा भने बाहिरका बिरामी भन्दा आफ्नै कर्मचारी संक्रमित भएकाले सेवा प्रभावित हुन थालेका छन्।
आठ महिना अघि कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो। अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ। तर, हाल जनशक्ति अभावले चुनौती थपिएको चिकित्सकहरुको भनाइ छ।
एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा कोभिड, नन् कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुन थालेको हो। सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाउनुका साथै उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ।