काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न अपरान्ह शितलनिवास पुगेका थिए। उनी करिब एक घण्टा कुराकानी भएको थियो।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए। पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उनको भनाइ छ।
यसअघि आजै बिहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो। यस्तै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।
यस्तै स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्नेछ ।
कोभिड संक्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको कांग्रेस महामन्त्री गगन थापाले बताए । बैठकमा कार्यसम्पादन समिति गठनबारे पनि छलफल हुनेछ । नेपाली कांग्रेसमा वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने मत बलियो बन्दै गएको छ ।
तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरु भने तिनै तहको चुनाव एकैपटक गर्नुपर्ने र त्यो चुनाव वैशाखमा गर्न नहुने बताउँदै आएका छन् । निर्वाचन आयोगले भने वैशाखमा स्थानीय तहको चुनाव गर्न मिति तोक्न दबाब दिँदै आएको छ ।